अमेरिका ले इरान को भूमिबाट एक अमेरिकी सैनिकलाई सफलतापूर्वक उद्धार गरेको जनाएको छ ।
शुक्रबार इरानमा खसेको F-15E Strike Eagle लडाकु विमानका चालक दलका एक सदस्यलाई चौबीस घन्टाभन्दा बढी समयपछि उद्धार गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नो Truth Social अकाउन्टमार्फत सैनिकको उद्धार भएको पुष्टि गरेका छन् । ‘हामीले उहाँलाई फेला पारेका छौं,’ उनले लेखेका छन् ।
ट्रम्पले उक्त अभियानलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसी ‘सर्च एन्ड रेस्क्यू’ अभियानमध्ये एक भएको बताएका छन् । उद्धार गरिएका अधिकारी कर्नेल दर्जाका उच्च सम्मानित सैनिक रहेको र हाल सुरक्षित अवस्थामा रहेको जानकारी पनि उनले दिएका छन् ।
उक्त लडाकु विमान खसेपछि चालक दलका दुई सदस्यले हाम फालेका थिए। तीमध्ये एक जनाको तत्काल उद्धार गरिएको थियो भने अर्का सदस्यको खोजी शनिबारसम्म जारी रहेको थियो ।
हराइरहेका सैनिकको खोजीका लागि अमेरिकी C-130 Hercules विमान तथा उद्धार हेलिकप्टरहरू प्रयोग गरी इरानको पहाडी क्षेत्रमा न्यून उचाइमा उडान भरिएको The Washington Post ले जनाएको छ। जोखिमपूर्ण परिस्थितिका बाबजुद पनि खोजी अभियान सफल भएको बताइएको छ ।
यसबीच इरानी सेनाले पनि बेपत्ता सैनिकको खोजी व्यापक रूपमा गरेको थियो। केही इरानी सञ्चार माध्यमहरूले उक्त अमेरिकी सैनिकलाई नियन्त्रणमा लिनेलाई पुरस्कार दिने घोषणा समेत गरेका थिए भने स्थानीय बासिन्दालाई उनी देखिएमा निशाना बनाउन आह्वान गरिएको थियो ।
ट्रम्पका अनुसार उद्धार अभियानका क्रममा उक्त सैनिक शत्रु नियन्त्रणरेखा भित्र जोखिमपूर्ण पहाडी क्षेत्रमा एक्लै रहेका थिए। उनलाई निरन्तर निगरानीमा राख्दै उच्च सैन्य नेतृत्वले समन्वय गरेको उनले बताएका छन् ।
‘मेरो निर्देशनमा अमेरिकी सेनाले अत्याधुनिक हतियारसहित दर्जनौँ विमान परिचालन गरेर उनलाई उद्धार गरेको हो,’ ट्रम्पले भने, ‘हामी कहिल्यै कुनै अमेरिकी सैनिकलाई पछाडि छोड्दैनौं ।’
उनका अनुसार उक्त अभियानमा कुनै पनि अमेरिकी सैनिकको ज्यान गएको वा गम्भीर घाइते भएको छैन, जसले इरानको आकाशमा अमेरिकाको नियन्त्रण र श्रेष्ठता पुष्टि गर्ने दाबी गरिएको छ ।