काठमाडौं | नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । बढ्दो घाटा र अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यको अस्थिरताका कारण खपत नियन्त्रण आवश्यक रहेको निगमले जनाएको हो ।
शनिबार र आइतबारको सार्वजनिक बिदामा अनावश्यक रूपमा लामो दूरीको यात्रा नगर्न तथा इन्धनको प्रयोग संयमित बनाउन निगमले आग्रह गरेको छ। विशेषगरी निजी सवारी साधन प्रयोग कम गर्न र सम्भव भएसम्म सार्वजनिक यातायातको प्रयोग गर्न पनि सुझाव दिइएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार उपभोक्ताको सहयोगबिना इन्धन खपत नियन्त्रण गर्न कठिन हुने भएकाले सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ। “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन। जसरी भए पनि इन्धन खपत कम गर्ने हो। यसमा जनताको पनि योगदान चाहिन्छ,” उनले भने ।
हाल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासमा ठूलो परिमाणमा घाटा व्यहोर्दै आएको जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा रहेको छ भने डिजेलमा प्रतिलिटर १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ। यस्तै एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव, ढुवानी लागत र विनिमय दरको प्रभावका कारण निगमको आर्थिक अवस्था दबाबमा परेको जनाएको छ। यस्तो अवस्थामा इन्धनको खपत घटाउनु नै घाटा न्यूनीकरणको प्रमुख उपाय भएको निगमको भनाइ छ ।
निगमले दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जा स्रोतको प्रयोग बढाउन, विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न तथा ऊर्जा दक्षतामा जोड दिन पनि सरकार र सरोकारवाला निकायलाई सुझाव दिएको छ ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र इन्धन प्रयोग गर्न र ऊर्जा बचतमा सचेत बन्न पुनः आग्रह गरेको छ ।