सन् २०२६ को मार्च महिनामा नेपालमा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा घटेको छ । नेपाल पर्यटन बोर्ड का अनुसार यस अवधिमा १ लाख २० हजार ५ सय १६ पर्यटक नेपाल आएका छन्, जबकि सन् २०२५ को सोही महिनामा १ लाख २१ हजार ६ सय ८७ पर्यटक आएका थिए ।
यद्यपि भारतसहित सार्क मुलुकबाट आएको पर्यटक संख्यामा २१ प्रतिशत वृद्धि हुँदा कुल आगमनमा ठूलो गिरावट हुनबाट जोगिएको छ ।
तर परम्परागत रूपमा वसन्त ऋतुमा पदयात्रा र पर्वतारोहणका लागि आउने पश्चिमा पर्यटकको संख्यामा उल्लेख्य कमी देखिएको छ । अमेरिकाबाट मार्च २०२६ मा ७ हजार ९ सय ७४ पर्यटक आएका छन्, जुन गत वर्षको ११ हजार ९२ को तुलनामा २८.१ प्रतिशतले कम हो ।
यस्तै, बेलायत बाट आउने पर्यटक संख्या पनि घटेको छ। यस वर्ष मार्चमा ४ हजार ८ सय १४ बेलायती पर्यटक नेपाल आएका छन्, जबकि गत वर्ष यो संख्या ५ हजार ९ सय ९५ थियो । समग्र युरोपेली पर्यटक आगमनमा १८.९ प्रतिशत गिरावट आएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी का अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण ट्रान्जिट मार्ग प्रभावित हुँदा पर्यटक आगमनमा प्रत्यक्ष असर परेको हो । उनले यात्रा अनिश्चित बनेको र त्यसले नेपालजस्ता मुलुकलाई असर पारिरहेको बताए ।
वसन्त ऋतु पर्यटनको मुख्य सिजन भए पनि ‘फेक रेस्क्यु’ प्रकरणले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि प्रभावित बनाएको छ । यसले पनि पर्यटक आगमनमा नकारात्मक असर पारिरहेको सरोकारवालाहरू बताउँछन् ।
यस्तै, नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि हवाई यात्रा महँगो बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार काठमाडौं–धनगढी उडानको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ ।
पर्यटन व्यवसायी सुमन पाण्डे का अनुसार नकारात्मक प्रचार नियन्त्रण गर्न सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न आवश्यक छ । साथै, द्वन्द्वको असर कम गर्न वैकल्पिक रणनीति अपनाउनुपर्ने उनको भनाइ छ ।
हाल नेपाल आउन टर्की, दिल्ली, हङकङ र चीन सुरक्षित ट्रान्जिट विकल्पका रूपमा रहेका छन्। बोर्डले यी मार्गहरूको प्रवर्द्धन गर्न थालेको जनाएको छ ।
अर्कोतर्फ, अमेरिका ले नेपालसम्बन्धी ट्राभल एडभाइजरी खुकुलो बनाएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक संकेत दिएको छ ।
आन्तरिक पर्यटनमा उत्साह
सरकारले शुक्रबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि आन्तरिक पर्यटनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। बोर्डका सीईओ जोशीका अनुसार यसले छोटो दूरीका गन्तव्यहरूमा पर्यटकको चहलपहल बढाउनेछ ।
पर्यटन व्यवसायी पाण्डेले पनि दुई दिनको बिदाले काम–जीवन सन्तुलन सुधार गर्ने र घुमफिर बढाउने भएकाले अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने बताए।