भ्रष्टाचार, ठगी र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा आफैं ठगिएको बताएका छन्।
गृहमन्त्री गुरुङका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको अतिक्रमित संरचना हटाउन पोखरा महानगरसँग अभियान चलाइरहेका बेला आफूले लिजमा लिएको जग्गा समेत अतिक्रमित भएको पत्ता लागेको हो ।
जग्गा लिजमा लिँदा जग्गाधनीले अतिक्रमित जग्गा भएको तथ्य लुकाएर झुक्याएर दिएको बताउँदै मन्त्री गुरुङसहित तीन जना साझेदार कानूनी उपचारमा जाने तयारीमा छन् ।
करीब ८–१० वर्षअघि मन्त्री गुरुङसहित तीन युवा उद्यमीहरूले साहसिक पर्यटन प्रवर्द्धनका उद्देश्यले ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाएका थिए ।
मन्त्री गुरुङले भने, “देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेर ठूलो लगानी र सपना लिएर काम सुरु गरेका थियौँ । जग्गा भाडामा लिनु अघि जग्गाधनीहरूले यो ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए, लालपूर्जामा समेत सुरक्षित देखाएका थिए । तर नगरपालिकाबाट बुझ्दा मापदण्डभित्र परेको रहेछ ।”
आफूहरुलाई ठगिएको थाहा पाएपछि तत्कालै काम रोकिएको उनले बताए ।
गुरुङले भने, “हामीलाई झुक्याएर ठगेर जग्गा भाडामा दिइएको यो तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ । हाम्रो सपना र लगानीमाथि भएको खेलबाड स्वीकार्य छैन । अब यो अन्याय र ठगी विरुद्ध कडाभन्दा कडा कानुनी उपचारका लागि कानुनी प्रक्रियामा विचलित नहुरी अघि बढ्नेछौँ ।”