सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालत काठमाडौंले दिएको पछिल्लो ५ दिनको म्याद समाप्त भएपछि उनीहरूलाई रिहा गर्न आदेश जारी गरेको हो ।
इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै २६ गतेभित्र अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको छ। साथै, अब थप म्याद नथप्न परमादेश समेत जारी गरेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले चैत २१ गतेदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनको म्याद थप गरेको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेपछि सरकारले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रहरीले ओली र लेखकलाई चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरेको थियो। आन्दोलनका क्रममा भएको मानवीय क्षति र राज्य पक्षको भूमिकाबारे आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।