बाराका सांसद अरविन्द साहले आगामी आर्थिक वर्षको बजेट समतामूलक ढंगले विनियोजन गर्न सरकारसँग माग गरेका छन् ।
उनले बजेट निर्माण गर्दा सबै क्षेत्र र समुदायलाई समान अवसर सुनिश्चित हुने गरी स्रोत वितरण गर्नुपर्नेमा जोड दिए । कृषकहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्दै उनले समयमा नै सर्वसुलभ रूपमा मल, बीउ र बिउ–विजनको व्यवस्था गर्न आग्रह गरे । सांसद साहले हालको झन्झटिलो कृषि बीमा प्रणालीलाई सरलीकरण गर्दै डिजिटल माध्यमबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । यसले किसानलाई सहज पहुँच र पारदर्शिता सुनिश्चित गर्ने उनको भनाइ छ ।
त्यसैगरी, सूचना प्रविधि क्षेत्रको विकासका लागि विश्वविद्यालयहरूमा आईटी, आइओटी लगायतका विषयमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनले बताए । आईटी अध्ययनरत विद्यार्थीहरूलाई कम्तीमा ६ महिनाको व्यावहारिक तालिम सम्बन्धित मन्त्रालयहरूमा गराउने व्यवस्था गर्न समेत उनले सरकारसँग आग्रह गरे ।
उनका अनुसार यस्ता कार्यक्रमहरूले युवाहरूको सीप विकाससँगै रोजगारी सिर्जनामा समेत टेवा पुग्नेछ ।