अब नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन)मा थप कागजात अनिवार्य गरिएको छ ।
वैदेशिक रोजगार विभाग ले २०८२ चैत २९ गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने जनाएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा कागजात साथमा राख्न अनुरोध गरेको छ ।
सूचनाअनुसार श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकट तथा सो टिकटको बिल र रसिद ( संस्थागत तथा व्यक्तिगत दुवै ) देखाउनुपर्नेछ। साथै, म्यानपावर कम्पनीमार्फत जाने भए सम्बन्धित संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि अनिवार्य गरिएको छ ।
विभागले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीसम्बन्धी सेवा शुल्क लिँदा श्रमिकलाई अनिवार्य रूपमा भौचर तथा रसिद उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले श्रमिकलाई आवश्यक कागजात पूरा गरेर मात्रै विमानस्थल जान आग्रह गर्दै नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।