जेनजी आन्दोलनका क्रममा लापरबाहीका कारण आन्दोलनकारीको ज्यान गएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा रिहा गर्ने भन्ने विषयमा प्रहरीले परामर्श अघि बढाएको छ ।
सर्वोच्च अदालतले सोमबार दिएको परमादेशअनुसार बुधबारभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा दायर नगरेमा उनीहरूलाई थुनामुक्त गर्नुपर्ने अवस्था आएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले अब म्याद थप नगर्न स्पष्ट निर्देशन दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई का अनुसार यस विषयमा सरकारी वकिल कार्यालयसँग छलफल भइरहेको छ। उनले भने, ‘मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने भन्ने निर्णय छलफलपछि हुन्छ ।’
ओली र लेखकलाई गत १४ चैतमा पक्राउ गरिएको थियो। उनीहरूको बयान प्रक्रिया सम्पन्न भइसकेको छ । अनुसन्धान टुंगिएमा सरकारी वकिलले आजै अदालतमा मुद्दा दायर गर्न सक्नेछ। तर अनुसन्धान अपूरो रहेमा सर्वोच्चको आदेशअनुसार उनीहरूलाई थुनाबाहिर राखी थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।
यसै प्रकरणमा पक्राउ परेका सहसचिव छवि रिजाल लाई यसअघि नै हाजिरी जमानीमा रिहा गरिएको छ । साथै, ओलीको स्वास्थ्य अवस्था, दुवै जनाको आशौच र बयान सम्पन्न भइसकेको अवस्थालाई ध्यानमा राख्दै अनुसन्धान छिटो टुंग्याउन अदालतले निर्देशन दिएको हो ।
यसअघि अदालतले उनीहरूलाई सुरुमा पाँच दिन, त्यसपछि थप दुई दिन र पुनः पाँच दिन म्याद थप गरेको थियो। तर सर्वोच्चको पछिल्लो परमादेशपछि बुधबारपछि थप म्याद गर्न नपाइने भएको छ ।
यदि आजै मुद्दा दायर भएमा अदालतको बयान र थुनछेक प्रक्रियाका कारण उनीहरू केही समय थप हिरासतमा बस्न सक्छन् । अन्यथा, हाजिरी जमानीमा रिहा गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।