ललितपुरस्थित पाटन कृष्ण मन्दिर परिसरमा बुधबार साँझ चक्कु प्रहारबाट दाजुभाइको हत्या भएको छ ।
प्रहरीका अनुसार अननाउन नम्बरबाट भएको फोन विवादपछि घटना घटेको हो ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको छ ।
उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । फोनमा विवाद भएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएको र त्यसपछि झगडा हुँदा उनले मासु काट्न प्रयोग हुने हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी मासु पसलमा काम गर्ने बताइएको छ ।
गम्भीर घाइते भएका दुवैलाई बीएन्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।