नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इरान बीच भएको दुई साता लामो युद्धविराम सम्झौताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालय ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमलाई पश्चिम एसियामा व्याप्त तनाव न्यूनीकरण गर्ने सकारात्मक सुरुवातको रूपमा व्याख्या गरेको हो ।
मन्त्रालयका अनुसार यो सहमतिले आपसी संवाद, कूटनीति र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने अवसर सिर्जना गरेको छ ।
नेपाल सरकारले युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धनका लागि महत्वपूर्ण पहलका रूपमा लिँदै कुनै पनि विवादको समाधान शान्तिपूर्ण तरिकाबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
साथै, क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका सकारात्मक प्रयासप्रति नेपाल सरकारले पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएको छ ।