राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहलाई पदबाट फिर्ता बोलाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट महोत्तरी–२ बाट निर्वाचित साहलाई मन्त्री बनेको जम्मा १४ दिनमै फिर्ता बोलाउने निर्णयमा रास्वापा पुगेको हो ।
सांसद साहलाई चैत १३ गते प्रधानमन्त्रीकाे क्याबिनेटमा श्रम मन्त्रीमा नियुक्त गरेको थियो । छोटो अवधिमै उनी विभिन्न विवादमा मुछिएपछि रास्वपाले अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
रास्वापा स्रोतका अनुसार, साहले स्वास्थ्य बिमा बोर्डमा आफ्नै श्रीमतीको पुनर्बहाली गराउन दबाब दिएको आरोप लागेको छ । यसका साथै बोर्डकै एक कार्यक्रममा दिएको अभिव्यक्तिले पनि व्यापक आलोचना निम्त्याएकाले साहको व्यक्तिगत भारी बाेक्न नसकि कार्वाही गरि मन्त्रीबाट फिर्ता बाेलाउने निर्णय गरेकाे हाे । यस घटनालाई रास्वापाले आचारसंहिताविपरीत ठहर गरेको जनाएको छ ।
रास्वपाको अनुशासन विभागले मन्त्री साहको गतिविधि सम्बन्धी प्रमाण संकलन गरी उनलाई मन्त्री पदबाट फिर्ता बोलाउन प्रधानमन्त्री बालेन शाहसमक्ष सिफारिस गरिसकेको जनाएको छ । पार्टीले ‘सुशासन र नैतिकता’लाई मुख्य एजेन्डा बनाएको सन्दर्भमा यस्तो निर्णयलाई कडाइका साथ लागू गर्न खोजिएको जनाएको छ ।
मन्त्री साहको कार्यशैलीप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेका छन् । सरकारको मर्म र भावना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालि उनलाई फिर्ता बाेलाउन लागेको जनाएको छ ।
मन्त्री साह शैक्षिक रूपमा अत्यन्त सबल मानिन्छन् । उनले बेलायतस्थित London School of Hygiene & Tropical Medicine मा पीएचडी अध्ययनरत (PhD Scholar) रहेका छन् भने London School of Economics बाट हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।
त्यसैगरी, नेपालकै Institute of Medicine बाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्री विषयमा उच्च अध्ययन तथा नेपाल ल क्याम्पस बाट एलएलबीसमेत गरेका छन् । उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन् ।
रास्वपाले छोटो अवधिमै आफ्नै मन्त्रीमाथि कारबाही प्रक्रिया अघि बढाउनु पार्टीभित्र अनुशासन र पारदर्शितामा कडाइ गर्न खोजिएको संकेतका रूपमा हेरिएको छ । यस कदमले ‘शून्य सहनशीलता’को नीति व्यवहार मै देखाउन खोजिएको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ ।