इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको उपचारका क्रममा निधन भएको छ । अप्रिलको सुरुवाततिर भएको आक्रमणमा गम्भीर घाइते भएका खराजीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
BBCका अनुसार इरानका विभिन्न सञ्चारमाध्यमहरूले खराजीको निधनबारे समाचार प्रकाशन–प्रशारण गरेका छन् ।
खराजीलाई इरानको सत्ता राजनीतिमा एक प्रभावशाली सुधारवादी नेताका रूपमा लिइन्थ्यो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’का प्रमुख हुनुका साथै इरानका सर्वोच्च नेता Ali Khameneiका सल्लाहकारका रूपमा पनि परिचित थिए ।
खराजीले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।
इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटका अनुसार १ अप्रिलमा तेहरानस्थित खराजीको निवासलाई लक्षित गरी आक्रमण गरिएको थियो । उक्त आक्रमणमा उनी गम्भीर घाइते भएका थिए भने उनकी पत्नीको घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ ।