प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत नारायणी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई २०९ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनायो । बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ३६ रनको योगदान दिए । उनले एक छक्का र चार चौका प्रहार गरे । त्यस्तै रिङझिङ लामा २९ रन र आशुतोष घिरैया १८ रनमा आउट भए ।
मधेस प्रदेशका बलर पवन सर्राफले ३ विकेट लिए। आदिल आलम र रञ्जित कुमारले २/२ विकेट हात पारे भने प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले १/१ विकेट लिए ।
प्रतियोगिताको अंकतालिकामा मधेस प्रदेश ९ अंकसहित चौथो स्थानमा रहेको छ भने बागमती प्रदेश ६ अंकसहित सातौं स्थानमा छ ।
त्यसैगरी जनकपुरस्थित रामजानी क्रिकेट मैदानमा जारी अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशलाई २२६ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनायो । एपीएफका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै ७२ रन बनाए । उनले ९४ बलमा एक छक्का र आठ चौका प्रहार गरे । सुमित महर्जनले ५७ रन बनाउँदै अर्धशतक पूरा गरे । अमर रौतेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन जोडे ।
कोशी प्रदेशका बलर सुजन थपलियाले ३ विकेट लिए भने विपिन महतो, दीपेश कंडेल र रोहन साहले १/१ विकेट हात पारे ।