सरकारले हवाई यात्रुहरूको सुविधा र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै देशभरका विमानस्थलहरूमा महत्वपूर्ण सुधारका योजना अघि सारेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा आगामी २४ घण्टाभित्र अनिवार्य रूपमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार यस्ता कक्षहरू सुरक्षित, सफा र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन गर्नुपर्नेछ। आवश्यकताअनुसार पुराना संरचनाको स्तरोन्नति गर्न पनि जोड दिइएको छ । साथै, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुहरूका लागि छुट्टै प्राथमिक हेरचाह कक्ष सञ्चालन गर्न निर्देशन दिइएको छ ।
विमानस्थल सेवाको गुणस्तर सुधार गर्न मन्त्रालयले सरसफाइ र स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिएको छ। अबदेखि विमानस्थलको सरसफाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनुपर्ने र त्यसको निगरानीका लागि दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्नुपर्नेछ ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ले तोकेका स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । साथै, शौचालयहरूमा महिला यात्रुहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न पनि भनिएको छ ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाद्वारा जारी निर्देशनअनुसार यसको कार्यान्वयनको नियमित अनुगमन गरी मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।
सरकारले यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सर्वसाधारणलाई पनि सहभागी गराएको छ । तोकिएका सुविधा उपलब्ध नभएमा वा निर्देशन पालना नभएमा नागरिक तथा यात्रुले सिधै मन्त्रालयका सूचना अधिकारीलाई जानकारी दिन सक्ने व्यवस्था गरिएको छ ।