अमेरिका र इरान बीच आज वार्ता हुँदैछ। पाकिस्तान को मध्यस्थतामा राजधानी इस्लामावाद मा शनिबार वार्ता हुन लागेको हो ।
वार्ताका लागि तेहरानबाट इरानी टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार ‘द डन’ले जनाएको छ । अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद पुगेको छैन र बाटोमै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले उल्लेख गरेको छ ।
इरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची सहितको टोली इस्लामावाद पुगेको छ । उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिर ले स्वागत गरेका छन् ।
इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञसहित करिब ७० जना सदस्य रहेको जनाइएको छ ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गर्ने बताइएको छ । टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्प का मध्यपूर्व मामिला हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान गरिएको छ ।
इस्लामावाद प्रस्थान गर्नुअघि भान्सले वार्ताको परिणाम सकारात्मक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले चेतावनी दिँदै भने, “यदि इरानले छल गर्ने प्रयास गर्यो भने वार्ता सहज नहुनेछ ।”
यता, इरानले वार्ताअघि नै कडा सर्तहरू अघि सारेको छ । सभामुख गालिबाफले अमेरिकाले कब्जा गरेको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबननमा युद्धविराम सुनिश्चित हुनुपर्ने माग राखेका छन् । यी सर्त पूरा नभएसम्म औपचारिक वार्ता सुरु नहुने उनको भनाइ छ ।
वार्ताको अघिल्लो दिन राष्ट्रपति ट्रम्पले इरानसँग वार्ताको विकल्प नरहेको बताएका छन् ।
छ हप्तादेखि जारी द्वन्द्वपछि हालै दुई साताका लागि युद्धविराम घोषणा गरिएको छ । अमेरिका र इसराइलले इरानमाथि हवाई आक्रमण रोके पनि इरानले हर्मुज जलमार्गमा लगाएको नाकाबन्दी अझै हटाएको छैन, जसले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको छ ।
इरानले युद्धविराममा लेबनन लाई पनि समेटिनुपर्ने माग राखेको छ । तर अमेरिका र इसराइलले भने लेबनन यसमा समावेश नभएको बताएका छन् ।
उल्लेखनीय छ, वार्तामा द्वन्द्वको प्रमुख पक्ष इजरायल भने सहभागी छैन ।