नासा को महत्वाकांक्षी ‘आर्टेमिस–२’ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेका चार अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वी फर्किएका छन् ।
उनीहरूलाई बोकेको ‘ओरायन’ अन्तरिक्षयान नेपाली समयअनुसार आज बिहान करिब ५ः४५ बजे प्रशान्त महासागर मा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको नासाले जनाएको छ ।
कमाण्डर रिड वाइजम्यान ले सबै सदस्य पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरेका छन् । ‘यो एक शानदार यात्रा रह्यो। हामी स्थिर अवस्थामा छौं र चारै जना सदस्य पूर्ण स्वस्थ छन्,’ उनले बताएका छन् ।
नौ दिनभन्दा बढी समयसम्म चलेको यस मिशनमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट करिब ४ लाख ६ हजार ७७१ किलोमिटर टाढासम्म यात्रा गरेका थिए, जुन मानव इतिहासकै सबैभन्दा टाढाको दूरी मानिएको छ । उनीहरूले चन्द्रमाको पछाडिबाट परिक्रमा गर्दै पूर्ण सूर्यग्रहणसमेत अवलोकन गरेका थिए ।
मिशनका क्रममा चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म नासासँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वानुमानअनुसार नै भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि मिशन विशेषज्ञ क्रिस्टिना कोच ले ‘पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै राम्रो लाग्यो’ प्रतिक्रिया दिएकी थिइन् ।
पाइलट भिक्टर ग्लोभर ले अन्तरिक्षबाट देखिएको दृश्यलाई ‘शब्दमा वर्णन गर्न नसकिने’ बताएका छन् । कमाण्डर वाइजम्यानले पनि अहिलेसम्म कुनै मानवले नदेखेका दृश्य देखिएको उल्लेख गरेका छन् ।
नासाले यस अवतरणलाई ‘टेक्स्टबुक ल्याण्डिङ’ को संज्ञा दिएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणमा चारै जना अन्तरिक्ष यात्री पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि गरिएको छ ।
मिशनमा सहभागी टोलीमा कमाण्डर वाइजम्यान, पाइलट ग्लोभर, मिशन विशेषज्ञ कोच र क्यानडाका जेरेमी हेन्सन रहेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अन्तरिक्ष यात्रीहरूलाई बधाई दिँदै व्हाइट हाउसमा आमन्त्रण गरेका छन् । ‘तपाईंहरूले इतिहास रच्नुभएको छ, अब अर्को लक्ष्य मंगल ग्रह हुनेछ,’ उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।