चितवन राष्ट्रिय निकुञ्ज मा गस्तीमा गएको सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापामगर का अनुसार बिहीबार गस्तीमा खटिएको सेनामाथि गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाइएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण अन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्तीका क्रममा अर्धवयस्क बच्चासहितको पोथी गैँडाले एक सिपाहीमाथि आक्रमण गरेको थियो । त्यसपछि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गरिएको भए पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको सुरक्षाका लागि थप दुई राउन्ड गोली चलाइएको निकुञ्जले जनाएको छ ।
गोली लागेर करिब २४ वर्ष उमेरको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो ।