अमेरिका ले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । चार्टर विमानमार्फत उनीहरूलाई नेपाल फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अध्यागमन प्रमुख नरहरी घिमिरे का अनुसार गत ७ अप्रिल (चैत २४) उनीहरू काठमाडौं आइपुगेका हुन्। डिपोर्ट हुनेमध्ये १२ जना अवैध बाटोबाट अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए।
मानव बेचविखन अनुसन्धान ब्यूरो का एसएसपी कृष्ण पंगेनी का अनुसार अन्य व्यक्तिहरू विभिन्न आप्रवासन नियम उल्लंघनका कारण डिपोर्ट गरिएको हो । पछिल्लो दुई महिनामा मात्रै अमेरिकाबाट २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् । डोनाल्ड ट्रम्प को दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाले आप्रवासीहरूमाथि कडाइ बढाएको छ । भिसा प्रक्रिया पूरा नगर्ने, अवधि सकिएपछि पनि बसिरहने तथा नियम उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिएर आफ्नै देश फर्काउने नीति कडा बनाइएको छ ।
केही घटनामा विभिन्न देशका नागरिकलाई हतकडी र नेल लगाएर फर्काइएको समाचारसमेत सार्वजनिक भएका छन् ।