हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न भागमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा भने पुनः मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।