भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा दिएपछि नेपाल सरकारले आन्तरिक तयारी सुरु गरेको छ । यद्यपि यसबारे सरकारले औपचारिक घोषणा भने गरिसकेको छैन ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बालेन शाहलाई भ्रमणको निमन्त्रणा दिइसकेका छन् र प्रधानमन्त्रीले सो निमन्त्रणा स्वीकार पनि गरिसकेका छन् । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन सञ्चारमाध्यम WION सँग कुरा गर्दै मोदीले शुभकामना सन्देश पठाउने क्रममा नै भ्रमणको निमन्त्रणा दिएको बताएका हुन् ।
उनका अनुसार भ्रमणको मिति भने अझै तय भएको छैन ।
“हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशसँगै भ्रमणको निमन्त्रणा प्राप्त गर्नुभएको छ। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ,” मन्त्री खनालले WION सँग भने, “तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन् ।”
त्यसै क्रममा परराष्ट्रमन्त्री खनालले मौरिससमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले बताएका छन् ।
उनका अनुसार नयाँ सरकारको प्राथमिकता तय गर्ने विषयमा समेत छलफल भएको थियो ।