पाकिस्तानले साउदी अरेबियाको सुरक्षालाई मजबुत बनाउन करिब १३ हजार सैनिक र केही लडाकू विमान पठाएको जनाएको छ ।
साउदी अरबको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार देशको पूर्वी क्षेत्रमा रहेको अब्दुलअजीज एयर बेसमा पाकिस्तान वायुसेनाका लडाकू तथा सहयोगी विमानहरू तैनाथ गरिएको छ ।
विज्ञप्तिमा यस तैनाथीको उद्देश्य दुई देशका सेनाबीच समन्वय बढाउने, परिचालन तयारी सुधार गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा र स्थिरतामा योगदान पुर्याउने रहेको उल्लेख छ ।
गत वर्ष हस्ताक्षर गरिएको संयुक्त रणनीतिक रक्षा सम्झौताअनुसार करिब १३ हजार सैनिक र १० देखि १८ वटा लडाकू विमान साउदी पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि पनि करिब १० हजार पाकिस्तानी सैनिक साउदीमा तैनाथ रहेका छन् ।
क्षेत्रीय तनाव बढ्दै जाँदा साउदीको सुरक्षालाई ध्यानमा राख्दै पाकिस्तानले थप सैन्य सहयोग पठाएको जनाइएको छ । विशेषगरी अमेरिका र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको सन्दर्भमा यो कदम चालिएको बताइएको छ ।
गत सेप्टेम्बरमा पाकिस्तान र साउदी अरेबियाबीच आपसी रक्षा सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार एक राष्ट्रमाथि भएको आक्रमणलाई दुवै देशमाथिको आक्रमणका रूपमा लिने व्यवस्था छ ।
यता अमेरिका र इरानबीच जारी तनाव न्यूनीकरणका लागि पाकिस्तानले मध्यस्थताको प्रयास पनि गरिरहेको छ । शनिबारदेखि आइतबार बिहानसम्म पाकिस्तानमा भएको वार्ता भने निष्कर्षविहीन भएको बताइएको छ ।
अमेरिकी पक्षका अनुसार इरानले प्रस्तावित सर्तहरू स्वीकार नगरेको छ भने इरानले पनि अमेरिकाले कडा र अव्यावहारिक माग राखेको आरोप लगाएको छ ।