गर्मी मौसम सुरु हुनेबित्तिकै बजारमा ताजा र रसिलो काँक्रो छ्यापछ्याप्ती पाइन्छ । मानिसहरू यसलाई सलाद, रायता वा सीधै नुन दलेर खान मन पराउँछन्, किनभने काँक्रोले शरीरलाई शीतलता प्रदान गर्छ भन्ने मान्यता छ । यसमा पानीको मात्रा प्रशस्त हुने भएकाले डिहाइड्रेसनबाट बचाउन पनि मद्दत गर्छ ।
तर के तपाईंलाई थाहा छ, गलत समयमा काँक्रो खाँदा स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ? धेरै मानिसहरू बिना सोचविचार दिउँसो वा राति जतिबेला पनि काँक्रो खाने गर्छन्, जसले गर्दा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । त्यसैले काँक्रो खाने सही समय र तरिका जान्नु अत्यन्त जरुरी छ ।
काँक्रो खाने सही समय
काँक्रो दिउँसोको समयमा खानु सबैभन्दा उत्तम मानिन्छ। यसलाई बिहान खाली पेटमा पनि खान सकिन्छ । तर राति काँक्रो खानबाट बच्नुपर्छ, किनभने यसको चिसो र भारी प्रकृतिले पाचन प्रक्रियालाई सुस्त बनाउन सक्छ ।
गलत समयमा खाँदा हुने बेफाइदा
राति काँक्रो खाँदा अपच र ग्यास्ट्रिकको समस्या हुन सक्छ। धेरै मात्रामा खाँदा पेट फुल्ने समस्या देखिन सक्छ। यसको चिसो प्रकृतिका कारण रुघाखोकी बढ्न सक्छ भने पाचन शक्ति कमजोर भएका व्यक्तिहरूलाई अझ बढी असर पर्न सक्छ ।
सही समयमा खाँदा हुने फाइदा
काँक्रोले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ। यसले तौल घटाउन सहयोग पुर्याउँछ र छालालाई चम्किलो तथा स्वस्थ बनाउँछ । साथै, पाचन प्रणालीलाई बलियो बनाउने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्न पनि सहायक हुन्छ ।
कसले सावधानी अपनाउने ?
पाचन शक्ति कमजोर भएका व्यक्तिहरू, बारम्बार रुघाखोकी लाग्नेहरू र राति एसिडिटीको समस्या हुनेहरूले काँक्रो सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।
काँक्रो खाने सही तरिका
काँक्रो सधैँ ताजा र सकेसम्म बोक्रासहित खाने कोसिस गर्नुपर्छ । खानुअघि यसलाई राम्ररी धुनु अत्यन्त जरुरी छ । यसलाई सलाद, जुस वा रायताको रूपमा सेवन गर्न सकिन्छ । साथै, काँक्रोमा धेरै नुन नहाल्नु राम्रो हुन्छ, किनभने यसले त्यसमा रहेका पोषक तत्त्वहरू घटाउन सक्छ ।
अस्वीकरण: यो सामग्री विभिन्न स्वास्थ्यसम्बन्धी अध्ययन तथा रिपोर्टहरूका आधारमा तयार गरिएको हो । व्यक्तिगत स्वास्थ्य समस्याका लागि चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।