कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा विषादीको अनियन्त्रित प्रयोग रोक्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सोमबार सबै स्थानीय तहलाई पत्राचार गर्दै घातक तथा प्रतिबन्धित विषादीको प्रयोग नियन्त्रण गर्न अनुरोध गरेको हो ।
हालका दिनमा सञ्चार माध्यममा आएका समाचार तथा सरोकारवाला निकायबाट प्राप्त सूचनाका आधारमा तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग भइरहेको पाइएको भन्दै मन्त्रालयले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । यसले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा नकारात्मक असर पार्ने खतरा रहेको मन्त्रालयको भनाइ छ ।
नेपालको संविधानअनुसार कृषि तथा कृषि उत्पादन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा रहेको उल्लेख गर्दै मन्त्रालयले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस विषयमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
मन्त्रालयले सुरक्षित कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै विषादी प्रयोगमा कडाइ गर्न र आवश्यक अनुगमन तथा नियन्त्रणका उपाय अपनाउन पनि स्थानीय तहलाई आग्रह गरेको छ ।