राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने गरी तयारीलाई तीव्र बनाएको छ ।
सरकारको परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने नीतिअनुसार बोर्डले हाल प्राप्ताङ्क इन्ट्री (डाटा प्रविष्टि) कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विभिन्न जिल्लाबाट उत्तरपुस्तिका तथा मार्कस्लिप आउने क्रम जारी रहेको छ। हालसम्म करिब १० जिल्लाको विवरण प्राप्त भइसकेको र बाँकी जिल्लाको विवरण संकलन गर्ने काम तीव्र गतिमा भइरहेको छ ।
नतिजा प्रकाशनमा ढिलाइ हुन नदिन बोर्डले सार्वजनिक बिदाका दिनमा समेत कर्मचारीहरू परिचालन गरेको छ । साथै, प्राविधिक त्रुटि नहोस् भन्ने उद्देश्यले नतिजा तयारीमा विशेष सतर्कता अपनाइएको बोर्डले जनाएको छ ।
परीक्षा सकिएपछि लामो समयसम्म नतिजा कुर्नुपर्दा विद्यार्थीमा पर्ने मानसिक दबाब कम गर्न सरकारले छिटो नतिजा सार्वजनिक गर्ने नीति लिएको हो ।