जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधितर्फ आकर्षित हुन थालेका छन् । लामो समयदेखि टमाटर खेती गर्दै आएका किसानहरूले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गरेर बिरुवा उत्पादन गर्न थालेका हुन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमानसिंह गिरीका अनुसार जिल्लामा पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो । उहाँले भन्नुभयो, “टमाटर खेती गर्दा किसानहरूले वर्षेनी रोग–किराको ठूलो समस्या भोग्दै आएका छन् । त्यसको समाधान खोज्ने क्रममा यो नयाँ प्रविधि अपनाइएको हो ।”
विशेषगरी बिरुवा ओइलाउने समस्या बढ्दो रूपमा देखिएपछि परम्परागत उपचारबाट समाधान नआएपछि वैकल्पिक उपायका रूपमा कलमी प्रविधि प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख गिरीका अनुसार कलमी बिरुवाबाट उत्पादन बढ्नुका साथै लागतसमेत कम लाग्ने अपेक्षा गरिएको छ । यस प्रविधि प्रयोगका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत तालिम दिइएको छ । चितवनका किसानसँग समन्वय गरी जङ्गली भान्टाको बीउ ल्याएर बेर्ना तयार गरी कलमी गरिएको हो ।
नेपालमा यो प्रविधि नयाँ मानिन्छ । इजरायल लगायतका देशमा भने यस प्रविधि सफल रूपमा प्रयोग भइसकेको छ । “नेपालमै पहिलो पटक यो प्रविधि प्रयोग भइरहेको छ, जसबाट किसानलाई उल्लेख्य लाभ पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख गिरीले बताउनुभयो ।