वीरगंज महानगरपालिका वडा नं. १५ मा कम्प्युटर अपरेटरको पारिश्रमिक नपाउँदा सेवा प्रभावित भएको छ ।
वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको पारिश्रमिक विगत केही महिनादेखि उपलब्ध नगराइएको कारण सेवाहरु प्रभावित भएको कार्यवाहक वडा अध्यक्ष दिपेन्द्र कुमार सोनारले जनाएका छन् । वीरगंज महानगरपालिकाले समयमा पारिश्रमिक उपलब्ध नगराउँदा, अनलाइन रसिद काट्ने र कम्प्युटर टाइप सम्बन्धी काम ठप्प भएको कार्यवाहक वडा अध्यक्ष दिपेन्द्र कुमार सोनारले जारी गरेको सूचनामा जानकारी गराइएको छ।
कम्प्युटर अपरेटरहरुले पारिश्रमिक नपाउँदा कार्यलयमा उपस्थित हुन नसकेको र त्यसले गर्दा स्थानीय सेवाग्राहीको कामकाजमा समस्या परिरहेको सूचनामा उल्लेख गरिएको छ । कार्यलयको सेवा अवरुद्ध हुन गएपछि यसबाट सर्वसाधारणले पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै, अर्को वैकल्पिक व्यवस्था नभएसम्म वडा समिति कार्यालय बन्द रहने जानकारी दिइएको छ ।
सुचनामा थप भनिएको छ, यस असुविधाका सम्बन्धमा गुनासो छ भने मेयर राजेशमान सिंह वा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई समक्ष सम्पर्क गर्न अनुरोध गरिन्छ।
