नेपाल प्रिमियर लिग ९ एनपीएल खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीबाट खेल्न पाकिस्तान फर्किने भएका छन् ।
उनलाई श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० शृङ्खलाका लागि पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ। उनी पाकिस्तान फर्किने भएपछि बीचको अवधिका लागि उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।
घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र ९एनओसी० दिन थप २५ हजार अमेरिकी डलर मागेको छ। खेलाडीहरूले एनओसी लिएर नेपाल आइसकेपछि अन्तिम समयमा थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘हामीले पाकिस्तानी खेलाडीलाई एनपीएलमा ल्याउनुको उद्देश्य उनीहरूको खेल हेर्नुका साथै नेपाली क्रिकेटको विकासमा लगानी गर्नु पनि हो। नेपाली क्रिकेट अहिले विकासको चरणमा छ। यस्तो अवस्थामा अन्तिम समयमा थप रकम मागिँदा हामी दुःखी छौँ,’ घिमिरेले भने ।
उनका अनुसार कर्णालीले थप रकम तिरेर खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा समेत छलफल गरिरहेको थियो। तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो। अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि उनी पुनः कर्णाली याक्समा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए ।
घिमिरेले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको पनि स्पष्ट पारे। भविष्यमा पनि पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ।
कर्णाली याक्सले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ। फरहान राष्ट्रिय टोलीका लागि पाकिस्तान फर्किने भएपछि उनको अनुपस्थितिमा टोलीको सन्तुलन कायम राख्न अर्को खेलाडी ल्याउने तयारी भइरहेको छ ।
घिमिरेका अनुसार एनपीएलमा विदेशी खेलाडी सहभागी गराउनु नेपाली क्रिकेटको स्तर र लोकप्रियता बढाउने प्रयासको हिस्सा हो। प्रतियोगिता सुरु हुने समयमा यस्तो समस्या देखिनु निराशाजनक भएको उनले बताए ।