भारतले नेपालको दाबी रहेको लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेको छ ।
भारतले चीनसँगको सहकार्यमा आगामी २०२६ जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन गर्ने जनाएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष यात्राका लागि कुल २० समूह रहनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट जानेछन् । प्रत्येक समूहमा ५० जना यात्रु सहभागी हुनेछन् ।
यात्रामा सहभागी हुन इच्छुकले आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति मे १९ तोकिएको छ ।
कैलाश मानसरोवर यात्रा धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ र हरेक वर्ष हजारौँ श्रद्धालु यसमा सहभागी हुने गर्छन् । कोभिड–१९ महामारीपछि २०१९ देखि रोकिएको यात्रा पछिल्लो समय पुनः सञ्चालनमा आएको हो ।
तर लिपुलेक पास नेपालको भूमि भएको दाबी गर्दै आएको नेपालले यस विषयमा आपत्ति जनाउँदै आएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो भूभाग भएको नेपालले स्पष्ट पार्दै आएको भए पनि भारतले सो क्षेत्रमा गतिविधि अघि बढाउँदै आएको छ ।
यसअघि पनि भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सहमति हुँदा नेपाललाई जानकारी नदिइएको भन्दै नेपालले असन्तुष्टि जनाएको थियो । पछिल्लो समय पनि सोही नाकाबाट यात्रा सञ्चालन गर्ने निर्णयमा नेपाल बेखबर रहेको बताइएको छ ।
सन् २०२४ डिसेम्बरमा चीनमा भएको उच्चस्तरीय भेटवार्तामा यो मार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि यात्रा पुनः सुरु हुने प्रक्रिया अघि बढेको हो ।