नेपाल मेडिकल काउन्सिल ले नेपाली नागरिकता त्यागेर विभिन्न देशको नागरिकता लिएका चिकित्सकहरूको दर्ता प्रमाणपत्र (मेडिकल लाइसेन्स) खारेज गर्ने प्रक्रिया तीव्र बनाएको छ ।
काउन्सिलका अनुसार शुक्रबार मात्रै थप १९ जना चिकित्सकको लाइसेन्स रद्द गरिएको छ । यसअघि यही साता १७ जनाको लाइसेन्स खारेज गरिएको थियो । यससँगै एक साताभित्र लाइसेन्स गुमाउने चिकित्सकको संख्या ३६ पुगेको छ । काउन्सिलका रजिष्ट्रारका अनुसार नेपाली नागरिकता परित्याग गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत विभिन्न मुलुकको राहदानी लिएका चिकित्सकहरूको नाम दर्ता किताबबाट हटाइएको हो ।
उनले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, मेडिकल काउन्सिल नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार विदेशी नागरिकता लिएका व्यक्तिले नेपाली मेडिकल लाइसेन्स कायम राख्न नमिल्ने व्यवस्था रहेकाले उक्त निर्णय गरिएको जानकारी दिए ।