राष्ट्रपति रामचन्द्र पौडेलले एकैपटक तीन वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेशहरू जारी गरेका हुन् ।
सरकारले कुल ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
यसअघि नै सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धी अध्यादेश तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन् ।