जिल्लामा मातृ तथा शिशु स्वास्थ्य सुदृढ बनाउने उद्देश्यसहित ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु गरिएको छ ।
आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमबीच उक्त अभियानको औपचारिक उद्घाटन गर्नुभयो। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशभर यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा कुपोषणको जोखिम मूल्यांकन गरी आगामी योजना निर्माणमा सहयोग पुर्याउनु रहेको छ ।
उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’ अवधिलाई अत्यन्त महत्वपूर्ण चरणका रूपमा उल्लेख गर्दै यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण सम्भव हुने बताउनुभयो । उहाँले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो । हेलेन केलर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित वि कास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा कार्यक्रम विस्तार गरिएको छ ।
हेलेन केलरका क्षेत्रीय सुपरिवेक्षक अमितराज साहका अनुसार जिल्लाभर करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था मूल्यांकन गर्ने लक्ष्य राखिएको छ । समुदायस्तरमै पुगेर गरिने यस अभियानले कुपोषणको वास्तविक अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सन् २०२२ यता राष्ट्रियस्तरको पोषण अध्ययन हुन नसकेको पनि उल्लेख गरिएको छ ।
दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइसकिएको छ । टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्था परीक्षण गर्नेछ र गम्भीर अवस्था देखिएमा तत्काल उपचारका लागि सम्बन्धित केन्द्रमा पठाइनेछ ।