नेपालका प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकार र भारतबीच कूटनीतिक दूरी बढ्दै गएको भारतिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
भारतका विदेश सचिव विक्रम मिस्रीको प्रस्तावित काठमाडौं भ्रमण अचानक स्थगित भएपछि दुई देशबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको हो । भारतीय विदेश सचिव मिस्रीको दुईदिने नेपाल भ्रमण आगामी मे ११ देखि हुने तय भएको थियो । तर भ्रमणअघि नै नेपाल सरकारको पछिल्लो अभिव्यक्ति र सीमा सम्बन्धी विषयलाई लिएर भारत असन्तुष्ट बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विशेषगरी लिपुलेक–कालापानी क्षेत्र र कैलाश मानसरोवर यात्राको विषयमा प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई भारतले गम्भीर रूपमा लिएको बताइएको छ । भारतीय पक्षले नेपालको पछिल्लो कूटनीतिक शैलीलाई “अपरिपक्व” र “अनावश्यक रूपमा आक्रामक” ठानेको चर्चा भारतीय मिडियामा भइरहेको छ ।
नेपालको अर्थतन्त्र, व्यापार, पेट्रोलियम आपूर्ति तथा पारवहन व्यवस्थामा भारतको महत्वपूर्ण भूमिका रहेको अवस्थामा सम्बन्धमा देखिएको चिसोपनले दीर्घकालीन असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । यद्यपि, भारतीय विदेश सचिवको भ्रमण किन स्थगित गरिएको भन्नेबारे भारत सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छैन । नेपाल सरकारतर्फबाट पनि यस विषयमा कुनै विस्तृत प्रतिक्रिया आएको भने छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपाल–भारत सम्बन्ध ऐतिहासिक, भौगोलिक र आर्थिक रूपमा अत्यन्त संवेदनशील भएकाले दुवै देशले संवाद र कूटनीतिक संयमता अपनाउन आवश्यक रहेको बताएका छन् ।