राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी तीव्र पारेको छ ।
सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले सम्पूर्ण कामलाई अन्तिम चरणमा पुर्याएको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार परीक्षार्थीहरूको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने कार्य सम्पन्न भइसकेको छ भने अन्तिम रुजु गर्ने प्रक्रिया पनि करिब सकिएको छ । कुनै प्राविधिक समस्या नआए मङ्गलबार नै नतिजा सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो । परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । साथै जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिएका थिए ।
सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले तीव्र गतिमा कार्य अघि बढाएको हो । विगतमा करिब तीन महिनापछि नतिजा सार्वजनिक हुने गरे पनि यस वर्ष प्रक्रिया छोट्याइएको छ । बोर्डका अनुसार यस पटक परीक्षा सम्पन्न भएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण कार्य सकिएको थियो ।
विद्यार्थीहरूले एसईई नतिजा एसएमएस, आईभीआर, युएसएसडी तथा विभिन्न वेबसाइटमार्फत हेर्न सक्नेछन् । नेपाल टेलिकमको १६०० नम्बरमार्फत समेत नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
नतिजा हेर्नका लागि निम्न वेबसाइट प्रयोग गर्न सकिनेछः