डिपी अर्याल ले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभा बैठक एक घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान लिएपछि संसद्मा तनावपूर्ण अवस्था सिर्जना भएको हो । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रमको जवाफ अघि बढाउन नहुने भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्रीबाट नै जवाफ आउनुपर्ने माग दोहोर्याउँदै संसद् अवरोध गरेका छन् ।
तर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी भएपछि विपक्षी दलहरूले त्यसमा आपत्ति जनाएका हुन् । शून्य समयमा सांसदहरूले बोलेपछि सभामुख अर्यालले अर्थमन्त्रीलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिन समय दिएका थिए । त्यसपछि कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै प्रधानमन्त्रीको अनुपस्थितिमा छलफल अघि बढाउन नसकिने बताएका थिए ।
सत्तापक्षका सांसदहरूले भने प्रतिनिधिसभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेमा तोकिएको मन्त्रीले नीति तथा कार्यक्रममाथि जवाफ दिन सक्ने व्यवस्था रहेको भन्दै बैठक सञ्चालन गर्नुपर्ने तर्क गरेका छन् । विपक्षीले भने उक्त व्यवस्था देखाएर लामो समयसम्म प्रधानमन्त्री अनुपस्थित रहनु अस्वीकार्य हुने भन्दै प्रश्न उठाएका छन् ।
विवाद चर्किएपछि सभामुख अर्यालले बैठक स्थगित गरेका थिए। हाल सभामुखले प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन् ।