कृषि, वन तथा वातावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूलाई रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित स्पेसिफिकेसनअनुसार मात्र मलको कारोबार गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी, मिश्रण तथा बिक्री–वितरण नगर्न आग्रह गरेको छ । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने कृषि अर्थ विज्ञ महानन्द जोशीले जानकारी दिएका छन् ।
उनका अनुसार रासायनिक मलको तत्वीय संरचना, न्यूनतम तथा अधिकतम पोषक तत्वको मात्रा तथा भौतिक–रासायनिक गुणस्तर पूरा भएको मल मात्र पैठारी र बिक्री–वितरण गर्न पाइने व्यवस्था गरिएको छ ।
मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका बिक्री कार्यालय, डिपो वा आधिकारिक रूपमा दर्ता भएका आयातकर्ता तथा डिलरबाट मात्र मल खरिद गर्न आग्रह गरेको छ ।
त्यसैगरी बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत तथा गुणस्तरबारे विक्रेतासँग आवश्यक सोधपुछ गरी गुणस्तर सुनिश्चित गरेर मात्र खरिद गर्न मन्त्रालयले किसानलाई आह्वान गरेको छ ।