आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो। एक समय १ सय ५३ रनमा ३ विकेट गुमाएको अवस्थामा राम्रो स्थितिमा रहेको अमेरिकाले त्यसपछि थप ३७ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो । अमेरिकाका लागि स्मित पटेल र सेहान जयसूर्याले अर्धशतकीय पारी खेले । पटेलले ८९ बलमा ८३ रन बनाउँदै ३ छक्का र ८ चौका प्रहार गरे भने जयसूर्याले ५२ बलमा ५० रन बनाए । मिलिन्द कुमारले २८ रन र हर्मित सिंहले १४ रन जोडे। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका बलर दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे। सन्दीप लामिछाने र गुलशन झाको नाममा १–१ विकेट रह्यो ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको शृङ्खलामा यसअघि दुई खेल सम्पन्न भइसकेका छन्, जसमा दुवै खेलमा स्कटल्याण्ड विजयी भएको थियो । लिग–२ को अंकतालिकामा नेपाल ८ स्थानमा छ । नेपालले २५ खेलमा ८ जित, १५ हार र २ खेल अनिर्णितसहित १८ अंक जोडेको छ । अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
नेपालका लागि आजको खेल अति महत्वपूर्ण मानिएको छ, किनभने शीर्ष ६ मा रहन र एकदिवसीय मान्यता जोगाउन अबका सबै खेल निर्णायक हुनेछन् ।