गर्मी मौसम सुरु भएसँगै बजारमा पहेँलो र आकर्षक देखिने आँपको बिक्री बढ्न थालेको छ ।
तर विज्ञहरूले बजारमा छिट्टै पकाउनका लागि प्रयोग हुने केमिकलयुक्त आँपबाट सचेत रहन उपभोक्तालाई आग्रह गरेका छन् । विशेषगरी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने चिकित्सकहरू बताउँछन् । जय प्रभा मेदान्ता अस्पतालकी डाइटिशियन प्रिया दुबेका अनुसार क्याल्सियम कार्बाइडमा आर्सेनिक र फस्फोरसजस्ता विषाक्त तत्व पाइने भएकाले यस्ता आँप सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । उनका अनुसार केमिकल प्रयोग गरेर पकाइएका आँपहरू सामान्यतया एकनासले पहेँलो देखिन्छन् ।
यस्ता आँप पानीमा राख्दा तैरिने सम्भावना पनि बढी हुन्छ । प्राकृतिक रूपमा पाकेको आँपमा भने हरियो, पहेँलो तथा हल्का दागसहित असमान रंग देखिने गर्छ । डाइटिशियन दुबेले कार्बाइडले पकाइएका आँप खाँदा अपच, वान्ता, पेट दुख्ने, पाचन समस्या तथा दीर्घकालीन रूपमा अन्य गम्भीर रोगको जोखिम बढ्न सक्ने बताइन् ।
कसरी बच्ने ?
विशेषज्ञहरूका अनुसार आँप खानुअघि कम्तीमा एक घण्टा बेकिङ सोडा वा सिरका मिसाइएको पानीमा भिजाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोएर मात्रै सेवन गर्नुपर्छ । साथै आँपको बोक्रा हटाएर खानु सुरक्षित मानिन्छ ।
उपभोक्तालाई अत्यधिक चम्किलो र एकनासे पहेँलो देखिने आँप खरिद गर्दा सावधानी अपनाउन पनि सुझाव दिइएको छ ।