आसन्न साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा भण्डारीको अनुपस्थितिमा एन्जिला तुम्बापो सुब्बालाई पुनः कप्तानीको जिम्मेवारी दिएको हो । अस्ट्रेलियामा लिग खेल्ने क्रममा घाइते भएकाले सावित्रा टोलीमा समावेश छैनन् ।
मुख्य प्रशिक्षक न्यौपानेले यस पटक मिडफिल्डर अनिता लम्जेल र बिर्सना चौधरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरेका छन् । साफ महिला च्याम्पियनसिप मे २५ देखि भारतको गोवामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र श्रीलंकासँग समूह ‘ए’ मा रहेको छ । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने मे ३१ मा श्रीलंकासँग समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा निलम्बन गरेपछि टोलीको सहभागिताबारे अन्योल बनेको थियो । तर शुक्रबार निलम्बन फुकुवा भएपछि नेपालले प्रतियोगितामा सहभागी हुने निश्चित भएको हो ।
नेपाली टोली ( २३ सदस्यीय )
गोलकिपर: एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर: पूजा राना, गीता राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी
मिडफिल्डर: रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी
स्ट्राइकर: रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा