पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ५, मसिहानी टोल नजिकको गंगोल (सिक्टा) नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मामाघर आएका बेला आमासँग ऋषिपञ्चमी नुहाउन गंगोल नदी गएका बालकहरूको डुबेर ज्यान गएको हो । मृत्यु हुने बालकहरूमा भारतको बेनिया बनकट निवासी वृजेश ठाकुर हजामका १० वर्षीय छोरा गुलसन ठाकुर हजाम र भारतको सिक्टा निवासी अन्जीत पटेलका ८ वर्षीय छोरा अविषेक पटेल रहेका छन् ।
दुवै बालक हाल मामाघरमा बस्दै आएका थिए । प्रहरीले दुवै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पुर्याएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।