नेपाली कांग्रेसका सांसदले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणमाथि छानबिन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।उनले अहिले गठन भएको छानबिन समितिले निष्पक्ष काम गर्न नसक्ने आशंका व्यक्त गर्दै समितिमाथि प्रश्न उठाएका थिए। “पूर्वगृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ,” शाहले भने।शाहले आयोगलाई प्रभावित पारेर सम्बन्धित व्यक्तिलाई उन्मुक्ति दिने प्रयास भइरहेको जनस्तरमा चर्चा रहेको दाबी पनि गरे। उनले कुनै पनि शक्तिशाली पदमा बसेको व्यक्ति कानुनभन्दा माथि हुन नहुने भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।
उनका अनुसार, आयोगले कसैको दबाब वा प्रभावमा परेर चोख्याउने काम गर्न नहुने भन्दै उच्चस्तरीय र पारदर्शी छानबिन सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।