आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
जारी शृंखलामा दोस्रो जित दर्ता गर्दै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको हो। स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले। उनले ९८ बलमा ५ चौका र २ छक्कासहित ७४ रन जोडे। यस्तै इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रनको अर्धशतकीय योगदान दिए।ओपनर कुशल भुर्तेलले २७ बलमा २८ रन बनाए भने आसिफ शेखले १७ बलमा २९ रन जोडे। आरिफ शेखले ८ रन र उपकप्तान दीपेन्द्र सिंह ऐरीले २ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९।१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाए। माइकल इङग्लिसले ५१ रन तथा जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन जोडे।