खेली मधेश, जिती मधेश” भन्ने मूल नारासहित मधेश प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सोमबारदेखि जनकपुरधामस्थित कभर्डहलमा सुरु भएको छ।
मधेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्देश्य प्रदेशभर खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ।प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, एथलेटिक्स, उसु, हक्कीलगायत १९ विधाका खेल समावेश छन्। खेलहरू प्रदेशका आठवटै जिल्लाका विभिन्न खेल मैदान तथा कभर्डहलमा सञ्चालन हुनेछन्।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले प्रदेशमा खेलकुद गतिविधिलाई सशक्त बनाउँदै युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलकुदलाई व्यवसायीकरण गर्दै खेलाडी तथा समग्र प्रदेशको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले परिषद्ले खेलकुद क्षेत्रमा “क्रान्ति” ल्याउने लक्ष्यसहित २३ खेल विधालाई अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो।यस्तै, मधेश प्रदेशका पूर्वमन्त्री तथा मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवले खेलाडीको हक, अधिकार र सुविधा सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँ–टोलमा लुकेका प्रतिभा उजागर गर्न खेलमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीको सहभागिता रहेको छ। प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापकसहित ३०३ जना सहभागी छन्। समग्रमा प्रतियोगितामा २ हजार ४७२ खेलाडीको सहभागिता रहेको परिषद्ले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब २ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।