चितवनको इच्छाकामना गाउँपालिका – १ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ रहेका छन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच सदस्यीय परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए। त्यसपछि परिवारका सदस्य बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
विद्यालयका अनुसार मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत थिए। मृत बालबालिकाका बुबाआमा भने सकुशल रहेका छन् । दुई बालबालिकाको दाहसंस्कार सम्पन्न भइसकेको तथा आज मृत्यु भएकी बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रधानाध्यापक मगरले जानकारी दिए ।