औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जले वैशाख महिनामा १६ वटा फर्ममा सिलबन्दी गरेको छ भने एक केमिकल उद्योगलाई जरिवाना गरेको छ । अनुगमनका क्रममा अवैध रूपमा सञ्चालन, मापदण्ड उल्लंघन तथा बिना इजाजत औषधि उत्पादन र बिक्री वितरण भएको भेटिएपछि कारबाही गरिएको हो ।
शाखा प्रमुख शम्भु साहका अनुसार वैशाख महिनाभरि कार्यालयका कर्मचारीहरूले सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र पर्सा जिल्लामा उद्योग तथा औषधि पसलसमेत गरी कुल ९५ फर्मको अनुगमन गरेका थिए । सो क्रममा २९ वटा औषधि पसलसँग आवश्यक कागजात तथा सूचनासमेत माग गरिएको उनले बताए ।
अनुगमनका क्रममा केही पसल बन्द रहेको पाइएपछि सम्बन्धित व्यवसायीलाई हाजिर हुन सूचना टाँस गरिएको छ । विभागले नियम उल्लंघन गर्ने फर्ममाथि चरणबद्ध रूपमा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
यसैबीच, बिना इजाजत औषधि उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई कम्पनीविरुद्ध औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कारबाहीमा पर्ने कम्पनीहरूमा वीरगन्ज–१५ भेडियाहीस्थित शान्ति केमिकल एण्ड प्याकेजिङ इण्डष्ट्रिज र वीरगन्ज–२४ रमगढवास्थित वेभ केमिकल इण्डष्ट्रिज रहेका छन् ।
त्यसैगरी, औषधिको अनुचित प्रयोग तथा दुरुपयोग गरेको आरोपमा चितवनको भरतपुर महानगरपालिका निवासी रोशन कुमालविरुद्ध चितवन जिल्ला अदालतमा समेत मुद्दा दायर गरिएको शाखाले जनाएको छ ।
शाखा प्रमुख साहले औषधि क्षेत्रलाई नियमन गर्न अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिइने र कानुन उल्लंघन गर्ने जो कोहीमाथि पनि कडा कारबाही हुने चेतावनी दिएका छन् ।