नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णयअनुसार सर्वोच्च अदालतका न्यायाधीश रहेका डा. शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएको थियो । संसदीय सुनुवाइ समितिले मंगलबार नै उहाँको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
नियुक्तिपछि लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कूटनीतिक नियोगका प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।