रक्सौल | भारत–नेपाल सीमास्थित रक्सौल क्षेत्रमा अवैध मनी एक्सचेन्ज तथा हवाला कारोबारविरुद्ध एसएसबीले ठूलो कारबाही गरेको छ । सब्जी बजार क्षेत्रमा गरिएको छापामार कारबाहीमा अवैध रूपमा नेपाली तथा भारतीय मुद्रा साटासाट गर्दै आएको गिरोहको पर्दाफास गरिएको हो ।
कारबाहीका क्रममा १७ लाख ८७ हजार १०० नेपाली रुपैयाँ तथा १ लाख ३४ हजार १५० भारतीय रुपैयाँ बरामद गरिएको छ । घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
गोप्य सूचनाका आधारमा मोहम्मद शाहिदको ठिकानामा छापा मारिएको बताइएको छ । नियन्त्रणमा लिइएका व्यक्तिमाथि सोधपुछ भइरहेको र यस नेटवर्कसँग सम्बन्धित अन्य व्यक्तिको खोजी भइरहेको छ ।
प्रशिक्षु आईपीएस अधिकारी तथा रक्सौलका एएसपी हेमन्त सिंहको नेतृत्वमा उक्त कारबाही गरिएको हो । पछिल्लो समय सीमाक्षेत्रमा अवैध नेपाली मुद्रा कारोबारविरुद्ध निगरानी कडा पारिएको जनाइएको छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध वित्तीय कारोबार र शंकास्पद लेनदेनमाथि निगरानी अझ सशक्त बनाइने सुरक्षा निकायले जनाएको छ ।