काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) राष्ट्रिय गौरव आयोजनाको हालसम्म ४७.५६ प्रतिशत भौतिक तथा ४७.४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
सोमबार बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरूसहित नेपाली सेनाको टोलीले आयोजना क्षेत्रको स्थलगत अनुगमन गरेको अवसरमा योजना प्रमुख तथा उपरथी धर्मेन्द्रकुमार झाले उक्त जानकारी दिएका हुन् । उनका अनुसार द्रुतमार्ग निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्ग एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड (प्राइमरी क्लास ‘ए’) अनुरूप निर्माण भइरहेको छ । आयोजनाअन्तर्गत सात स्थानमा १०.९७९ किलोमिटर लम्बाइका ट्विन टनेल तथा ८९ स्थानमा पुल निर्माणको काम जारी छ ।
हालसम्म सुरुङ निर्माणतर्फ ६.४ किलोमिटर खन्ने कार्य सम्पन्न भइसकेको छ भने दुई स्थानमा ‘ब्रेकथ्रु’ सम्पन्न भएको छ। ३.४ किलोमिटर लामो अर्को सुरुङको ‘ब्रेकथ्रु’ आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै चार किलोमिटर सुरुङमा लाइनिङको काम पनि पूरा भइसकेको सेनाले जनाएको छ ।
पुल निर्माणतर्फ ८९ मध्ये १६ वटा पुलको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । सडक निर्माणतर्फ ४७.११३ किलोमिटर क्षेत्रमा काम भइरहेको छ भने सात किलोमिटर सर्भिस लेन कालोपत्रे भइसकेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
आयोजनाको प्रारम्भिक लागत २ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ रहेकामा परिमार्जनपछि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ । यससँगै लागतमा २ अर्ब २ करोड रुपैयाँ कटौती भएको योजना प्रमुख झाले बताए ।
द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज तथा बुंगमती, बुदुने र निजगढमा तीन वटा टोल प्लाजा निर्माण गरिनेछ । साथै दुई वटा विश्रामस्थल पनि निर्माण हुनेछन् ।
आयोजनाअन्तर्गत देवीचौर (१ किमी), सिसौटार (०.३९ किमी), चन्द्राम भीर (२.२३७ किमी), महादेवडाँडा (३.४५५ किमी), घेद्रे (१.६९१ किमी), लेनडाँडा (१.६२३ किमी) र मौरीभीर (०.५८३ किमी) गरी सात वटा सुरुङ निर्माण भइरहेका छन् । यी सुरुङहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ ।
आयोजना सम्पन्न भएपछि काठमाडौंदेखि निजगढसम्मको यात्रा समय करिब १ घण्टा २ मिनेटमा सीमित हुने विश्वास गरिएको छ । आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल नेपाली सेनाले ११ क्लस्टरमार्फत करिब ६५ किलोमिटर क्षेत्रमा निर्माण कार्य सञ्चालन गरिरहेको छ ।
आयोजनाका लागि हालसम्म ५५ हजार ३०४ वटा रुख कटान गरिएको छ । त्यसको क्षतिपूर्तिस्वरूप ५ हजार ८६ हेक्टर क्षेत्रमा ७ लाख ५ हजार ५१२ वटा बिरुवा रोपिएको योजना प्रमुख झाले जानकारी दिए ।