भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको सुगौली थाना क्षेत्रमा राति भएको सामूहिक बलात्कारको घटनाले क्षेत्रभर सनसनी फैलाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ सुगौली प्रहरी सक्रिय भई करिब ८ घण्टाभित्रै पाँचै जना आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।
एसडीपीओ दिलीप कुमारका अनुसार थानाध्यक्ष अनीश कुमार सिंहको नेतृत्वमा प्राविधिक तथा सूचनामूलक अनुसन्धानका आधारमा छापामारी गरिएको थियो । सुरुमा दुई जना आरोपीलाई दुई घण्टाभित्रै पक्राउ गरिएको र त्यसपछि बाँकी तीन जनालाई पनि क्रमशः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षणका लागि मोतिहारी पठाइएको छ भने फरेन्सिक साइन्स ल्याब (FSL) टोलीलाई समेत अनुसन्धानका लागि बोलाइएको छ ।
प्रहरीले सबै आरोपीहरूमाथि बयान लिने काम जारी राखेको छ । साथै सामूहिक बलात्कारसहित विभिन्न गम्भीर धारामा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।