सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालमा उपलब्ध हुँदै आएका अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक बाहेकका सबै बीमा सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा स्थगित हुनेछन् । यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको जनाएको छ ।
निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौं निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत रहने बोर्डले स्पष्ट पारेको छ ।
स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । लामो समयदेखि सरकारले बीमावापतको रकम भुक्तानी नगरेपछि निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी वित्तीय व्यवस्थापन र दीर्घकालीन योजना बिना सञ्चालन गर्दा अहिले कार्यक्रम नै संकटमा परेको टिप्पणी गरेका छन् । सेवा गुणस्तर, दाबी भुक्तानी र प्रशासनिक व्यवस्थापन कमजोर हुँदा कार्यक्रम धराशायी हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
यसअघि नै कतिपय निजी अस्पतालहरूले स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रम संकुचनतर्फ गएको विश्लेषण गरिएको छ ।