स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकट र भुक्तानी व्यवस्थापनमा देखिएको समस्यालाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक (इमर्जेन्सी) बाहेकका अन्य स्वास्थ्य बीमा सेवा रोक्ने निर्णय गरेको हो ।
बोर्डले सेवा प्रदायक अस्पतालहरूलाई पत्राचार गर्दै उक्त निर्णयबारे जानकारी गराएको छ । बोर्डका अनुसार निर्णय यही साउन १६ गतेदेखि लागू हुनेछ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैर-आकस्मिक बीमा सेवा स्थगित गरिएको उल्लेख गरिएको छ ।
पछिल्लो समय स्वास्थ्य बीमा बोर्ड गम्भीर वित्तीय संकटबाट गुज्रिरहेको छ । भुक्तानी व्यवस्थापनमा समस्या बढ्दै जाँदा सरकारी अस्पतालहरूमा प्रदान गरिने सेवासमेत प्रभावित हुन थालेको बताइएको छ ।